काठमाडौं, साउन ४ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ लाङ्दीमा गएको पहिरोले एक घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ४ बजे गएको पहिरोले छविलाल विश्वकर्मा (उमेर ७६) र उनकी पत्नी विष्णुमती विश्वकर्मा (उमेर ७६) लाई पुरेको हो ।
सुतिरहेको अवस्थामा पहिरो खसेपछि उनीहरू बेपत्ता भएको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार, ३२ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।
“उहाँहरूको घरमा मात्र पहिरो खसेको हो,” अध्यक्ष शर्माले भनिन्, “बेपत्ताहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भइसकेका छन्, तर हालसम्म अवस्था अज्ञात छ ।”
पीडित परिवारमा सासु, ससुरा र बुहारी मात्रै घरमा थिए । भाग्यवश नातिनातिनीहरू मामा घर गएकाले जोगिएका हुन् । अध्यक्ष शर्माले आफूहरू पनि घटनास्थलतर्फ गइरहेको जानकारी दिइन् ।
स्थानीय प्रशासनले खोजी तथा उद्धार कार्य तीव्र पारेको छ भने वर्षाका कारण थप जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
























