विराटनगर, साउन ४ । लगातारको वर्षाका कारण देशका पूर्वी भागमा बाढी र पहिरोका समस्या बढिरहेका छन् । पाँचथरको हेवा खोलामा आएको बाढीले डाइभर्सन भत्काएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले दिएको जानकारीअनुसार, डाइभर्सनमाथिबाट बाढीको पानी बग्न थालेपछि सडक आवागमन बन्द भएको हो । “पानीको बहाव घट्दै छ, त्यसपछि मर्मत गरेर सडक सञ्चालनमा ल्याउने योजना छ,” पोखरेलले बताए ।
यस अवरोधका कारण ताप्लेजुङ र पाँचथर जिल्लाका तीन पालिकामा सवारीसाधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ । उल्लेखनीय कुरा के छ भने, २०८० सालको असार महिनामा आएको बाढीले हेवा खोलाको पुल बगाएको थियो। त्यसपछि अस्थायी रूपमा बनाइएको बेलिब्रिज पनि गत असोज १२ गतेको बाढीमा बगाएको थियो । त्यसयता डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । यस्तै, जेठ ३१ गते नयाँ बेलिब्रिज निर्माण सकिएको घोषणा गरिएको दिनमै पुनः भाँचिएको थियो ।
बाढीको प्रभाव मेची राजमार्गमै सीमित छैन । तमोर करिडोर पनि पहिरोका कारण अवरुद्ध भएको छ । धनकुटाको साँघुरीगढी गाउँपालिका–९ मा गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
स्थानीय प्रशासनले पानीको बहाव कम भएसँगै सडक मर्मत र खुलाउने प्रयास गरिरहेको जनाइएको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ।

























