काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागको भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनाको पालना गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अत्यावश्यक अवस्थाबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेका छन् भने सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।
विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
























