काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।
शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधानमा रहेको उमेर हदसम्बन्धी व्यवस्था खारेज गर्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको हो।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त जानकारी दिएका हुन्। उनका अनुसार, बैठकले विधानको धारा ६४ मा रहेको उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्तावलाई स्वीकार गरेको छ।
त्यस्तै, पार्टीको सदस्यता प्रणालीलाई सरल बनाउन ‘संगठित सदस्य’ र ‘पार्टी सदस्य’ गरी दुई प्रकारको व्यवस्था हटाएर एउटै बनाउने सुझावलाई पनि बैठकले स्वीकार गरेको छ।
बैठकमा जिल्ला कमिटीलाई हालको राजकीय संरचनाअनुसार कार्यकारी कमिटीको रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको गौतमले जानकारी दिए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय बैठकमा उठे पनि हाललाई कुनै निर्णय नभएको गौतमले बताए।
उनका अनुसार, पार्टी विधानको धारा ८ र ९ अनुसार राष्ट्रपति जस्तो गरिमामय पदबाट अवकाश पाएको व्यक्तिको सक्रिय राजनीतिमा पुनरागमन र सदस्यताको प्रक्रियाबारे गम्भीर छलफल आवश्यक देखिएकोले यो विषय हाललाई ‘पेन्डिङ’ मा राखिएको हो।
‘राष्ट्रपति पदको गरिमा र हाम्रो प्रणालीमा यसले पार्ने प्रभावबारे विभिन्न कोणबाट छलफल भयो,’ गौतमले भने, ‘यस विषयमा पार्टीले उचित समयमा आवश्यक परामर्श र छलफलपछि ठूलो फोरमबाट निर्णय लिनेछ।’
उनले पूर्वराष्ट्रपति भण्डारी, कांग्रेस नेता शेखर कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच नयाँ समीकरणबारे छलफल भएको भन्ने बाहिर आएका हल्लाहरूमा कुनै सत्यता नभएको र बैठकमा यसबारे कुनै चर्चा नभएको स्पष्ट पारे।
पोलिटब्युरो बैठकले पारित गरेका विधान संशोधन सम्बन्धी यी प्रस्तावहरूलाई अब साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस गरिनेछ।
केन्द्रीय कमिटीबाट पारित भएपछि सुझावका लागि तल्ला कमिटीहरूमा पठाइने र त्यसपछि विधान महाधिवेशनले अन्तिम टुङ्गो लगाउने एमालेले जनाएको छ।

























