काठमाडौं, साउन २ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको एक वर्षे कार्यकालमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सडक, पुल, सुरुङमार्ग, कानुनी सुधार, र अन्य पूर्वाधार विकासका कामहरूबारे प्रतिवेदन सार्वजनिक गरे ।
मन्त्री दाहालका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ९३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिइएकोमा ९३२ किलोमिटर कालोपत्रे सम्पन्न गरिएको छ । यस अवधिमा १०५ वटा पक्की पुल र १० वटा बेलिब्रिज निर्माणसम्पन्न भएका छन् । यद्यपि पुल निर्माणमा १५० को लक्ष्य राखिए पनि त्यो स्तरमा पुग्न नसकिएको उनले स्वीकारेका छन् ।
छ वर्षयताकै उच्च पुँजीगत खर्च
मन्त्रालयले पुँजीगत खर्चको सन्दर्भमा पछिल्लो छ वर्षको तुलनामा सबैभन्दा राम्रो प्रदर्शन गरेको जनाएको छ । मन्त्री दाहालले वर्ष दिनको सबैभन्दा ठूलो उपलब्धिको रुपमा पुँजीगत खर्चलाई देखाएका छन् । उनका अनुसार मन्त्रालयले पछिल्ला छ आवको तुलनामा गत आवमा सबैभन्दा बढी पुँजीगत खर्च गर्न सफल भएको हो । गत आवमा मन्त्रालयको पुँजीगत खर्च ७६.४१ प्रतिशत पुगेको छ । यो राष्ट्रिय पुँजीगत खर्चभन्दा १३.२१ प्रतिशत बढी हो । राष्ट्रिय पुँजीगत खर्च ६३.२ प्रतिशत छ ।
अघिल्लो आव २०८०/८१ मा विकास निर्माणका आयोजनामा दायित्व सिर्जना भई सोही आवमा भुक्तानी दिन नसक्दा मन्त्रालयको दायित्व बढेको थियो । गत आवमा यस्तो बक्यौतामध्ये ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी मन्त्रालय दिन सफल भएको छ । अब उक्त आवको भुक्तानी दायित्व थोरै मात्र बाँकी रहेको मन्त्रालयको दाबी छ ।
एक वर्षे कार्यकालको अर्को महत्वपूर्ण उपलब्धिको रूपमा मन्त्री दाहालले देशका सबै ७७ जिल्ला सदरमुकामलाई राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिएको उल्लेख गरेका छन् । हुम्लाको सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा बेलिब्रिज निर्माण गरी असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको थियो ।
रुग्ण आयोजनाको व्यवस्थापन र कानुनी सुधार
काम सुरु भएर पनि अलपत्र परेका आयोजना (रुग्ण आयोजनाहरू) को व्यवस्थापनमा जोड दिइएको मन्त्री दाहालले बताए । सोका लागि समिति गठन गरी ठेक्का र व्यवस्थापन सुधार गरिएको जानकारी उनले दिए ।
यसैबीच, सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रदेशस्तरमै थालिने र बाँकी रहेका लाइसेन्स छपाइका लागि सुरक्षा मुद्रण केन्द्रसँग समझदारी भइसकेको जानकारीसमेत दिए ।
गत आवमा मन्त्रालयले ३० वटा कानुन निर्माण प्रक्रिया अघि बढाउने लक्ष्य लिएकोमा १० वटा ऐन, नियमावली तथा नीतिको मस्यौदा प्रक्रिया अगाडि बढेको छ ।
पानीजहाज र रेलमार्गमा पनि प्रगति
समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने सपना साकार पार्न ‘पानीजहाज विधेयक’ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेश भइसकेको जानकारी पनि मन्त्री दाहालले दिए ।
रेलमार्गतर्फ बर्दिवास–चोचा खण्डमा मुआब्जा तथा क्षतिपूर्तिको समस्या समाधान गर्न पहल थालिएको र ३ वटा रेलपुल निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए ।
सुरुङमार्ग र नयाँ सडक आयोजना
ग्वार्को ओभरपास, सिद्धबाबा सुरुङमार्ग (११२६ मिटर खन्ने र ९०० मिटर कंक्रिट लाइनिङ सम्पन्न), हेम्जा–नयाँपुल तथा दुम्कीबास–बर्दघाट सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा पूर्वी खण्डमा ४१ किलोमिटर सडक कालोपत्रे गरेर सम्पन्न गरिएको छ। यो खण्ड, विशेषतः आँबुखैरेनीदेखि जामुनेसम्मको सडक, हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तर, सडकमा गाडी रोकेर फोटो वा भिडिओ खिच्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले भौतिक सचिव केशवप्रसाद शर्माले सावधानी अपनाउन आग्रह गरेका छन् । उनले भने, ‘ूसडकको बीच भागमा तस्बिर वा भिडिओ खिच्दा सवारी आवागमनमा बाधा पुग्न सक्छ। त्यसैले किनार वा सुरक्षित स्थानबाट मात्रै दृश्य कैद गर्नु उपयुक्त हुन्छ ।’
भौतिक पूर्वाधार मन्त्रालयले एक वर्षे अवधिमा केहि महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । यद्यपि, केही योजनामा लक्ष्यअनुसारको उपलब्धि हासिल नभएको मन्त्रालयले स्वीकार गरेको छ ।

























