काठमाडौं, साउन २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार प्रकरणहरूको छानबिन र कारबाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज दिउँसो १ बजे पार्टी प्रतिनिधिमण्डलले टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ।
यसअघि असार १९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ज्ञापनसहितको प्रदर्शनका माध्यमबाट अख्तियारको ध्यानाकर्षण गराउने तयारी गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
“देशमा भएका सबैजसो भ्रष्टाचारका काण्डमा राजनीतिक संरक्षण र संलग्नता नहुने सम्भावना कम छ,” श्रेष्ठले भने, “त्यसैले हामी आयोगलाई भ्रष्टाचार अनुसन्धानमा तदारुकता देखाउन र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन दबाब दिन गइरहेका छौं।”
राप्रपाले २०४६ सालपछिका सबै उच्चपदस्थ नेताहरू, कर्मचारी तथा तिनका नातेदारहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा समेत निवेदन दिने तयारी गरेको छ।
प्रवक्ता श्रेष्ठका अनुसार, राप्रपाले अख्तियारका प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका सरोकारवाला निकायहरूमा चरणबद्ध रूपमा दबाबमूलक अभियान सञ्चालन गर्ने योजना बनाएको छ।
























