काठमाडौं, साउन २ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले वातावरणमैत्री तथा अपाङ्गमैत्री सडक संरचना निर्माणमा विशेष ध्यान दिइरहेको बताएका छन् ।
शुक्रबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले संविधानले समेत समावेशी र दिगो विकासमा जोड दिएको उल्लेख गर्दै मन्त्रालयले त्यसैअनुसार योजना अघि बढाइरहेको जानकारी दिए ।
उनका अनुसार स्थान-स्थानमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्नेतर्फ सरकारको योजना रहेको छ। “हामीले लिफ्टको व्यवस्था गरेर ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि आकाशे पुल सहज बनाउने सोच बनाएका छौं,” मन्त्री दाहालले भने, “उन्नत प्रविधिको लिफ्ट प्रस्ताव गरिएको छ र यसको लागि दाताहरूसँग सहयोगको आग्रह पनि गरिएको छ।”
बसुन्धरादेखि अगाडिको क्षेत्र किन निर्माण हुन नसकेको भन्ने प्रश्नमा मन्त्री दाहालले मुआब्जा दिन सक्ने अवस्था नरहेकाले ढिलाइ भएको स्पष्ट पारे । उनले भने, “नेपाल सरकारले आफैँ बनाउने योजना अघि बढाएको छ तर बजेट अभावका कारण गति सुस्त छ । कोटेश्वरसम्म सडक विस्तार गर्नुपर्ने चुनौती पनि छ ।”
उनका अनुसार अहिले भएका स्रोत-साधनमै भर परेर सरकार चरणबद्ध रूपमा वातावरणमैत्री पूर्वाधार निर्माणमा जुटेको छ।

























