काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सार्वजनिक अडियोसँग आफू र मन्त्रालयको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताएका छन् ।
मन्त्री अधिकारीले भने, “तपाईंहरूले अडियो सुन्नुभएको होला। त्यो मेरो आवाज हो, मैले त्यहाँ केही मागेको छु वा प्रतिफलको आश्वासन दिएको छु भनेर प्रमाणित भयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु।”
उनले उक्त अडियो नियोजित रुपमा चरित्र हत्या गर्न र स्वार्थ सिद्ध गर्न खोजिएको प्रयास भएको दाबी गरे । केही व्यक्तिहरूले आफू अनुकूल निर्णय गराउन प्रयास गर्दै मालपोत अधिकृतलाई फिर्ता गराउन दबाब दिएको र आफूले अस्वीकार गरेपछि अडियो प्रकरण बाहिरिएको उनले बताए ।
ूकेही व्यक्तिहरू आफ्नो स्वार्थका लागि आएर मलाई दबाब दिए । मैले अस्वीकार गरेपछि यस्तो प्रचार भयो। मालपोत अधिकृतको सरुवा भए पनि म फेरि त्यही जान्छु भनेको छैन’ उनले प्रष्ट पारे ।
पोखराको एक विवादित जग्गा प्रकरणसँग जोडेर मन्त्री अधिकारीको नाम सार्वजनिक भएपछि उत्पन्न विवादबारे उनले भने, “अहिलेसम्म अडियोमा प्रयोग भएका भाषा र व्यक्तिहरू हाम्रो कुनै सरोकारका होइनन् । म आफूले केही भनेको छु कि छैन भन्ने कुरा अडियो सुनेर जो–कोहीले छुट्याउन सक्छ ।”
मन्त्री अधिकारीले यसरी अफवाह र असत्य प्रचारमार्फत आफ्नो र आफ्नो परिवारको चरित्र हत्या प्रयास भइरहेको आरोप लगाए । उनले सत्यका आधारमा आफूमाथि मूल्यांकन हुनुपर्ने माग गर्दै सञ्चार माध्यमलाई तथ्यमा आधारित भएर रिपोर्टिङ गर्न आग्रह गरेका छन् ।

























