काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आगामी दोस्रो विधान महाधिवेशनको तयारीलाई प्राथमिकता दिँदै आजदेखि औपचारिक छलफल थालिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, साउन २ र ५ गते हुने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप सचिवालय बैठक आह्वान गरिएको हो ।
एमालेले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सोही तयारीअनुसार पार्टीका प्रमुख संरचनाहरु— सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी— बैठकहरू सञ्चालन गर्दैछ।
बैठकमा राजनीतिक, सांगठनिक तथा विधान संशोधनसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिनेछ। राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले, र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले पेश गर्ने कार्यक्रम छ ।
























