ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको सरकारलाई कडा चेतावनी दिएका छन्। ललितपुरमा आयोजित वाईसीएलको “श्रम उत्पादनमा अभियान” शुभारम्भ कार्यक्रममा बोल्दै उनले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिकोणले अत्यन्त जटिल मोडमा रहेको बताएका छन् ।
उनको भनाइमा, “जहाँ अहिलेको सरकार टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही देखिँदैन। सुशासनलाई समाप्त पार्ने दिशामा सरकार अग्रसर छ, जसले देशलाई असफलतातर्फ डोर्याइरहेको छ।”
प्रचण्डले जनतासँगको सम्बन्ध बलियो बनाउँदै श्रम र उत्पादनमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याए। उनले सामाजिक न्याय र आर्थिक समृद्धिका लागि युवालाई संगठित गर्नुपर्नेमा जोड दिए।
“हामीले पटक–पटक खबरदारी गर्दा पनि यदि सरकार भ्रष्टाचारमै लिप्त भइरहन्छ र जनभावनाको अपमान गर्छ भने, हामी प्रतिवादका लागि सडकमा उत्रन पछि हट्ने छैनौं,” उनले स्पष्ट रूपमा चेतावनी दिए।
उनले परिवर्तन उल्ट्याउने शक्तिहरूविरुद्ध युवालाई परिचालित गर्दै लड्नुपर्ने आवश्यकता पनि दोहोर्याए ।

























