काठमाडौं । नेपालको दुई प्रमुख डिजिटल वालेट सेवा प्रदायकहरू (आईएमई पे र खल्ती) एक आपसमा मर्ज भएर आज साउन १ गतेदेखि ‘खल्ती बाइ आईएमई’ नाममा संयुक्त कारोबार सुरु गरेका छन् ।
मर्जरपछि अब १ करोड २७ लाखभन्दा बढी सेवाग्राही एउटै एपमार्फत सेवा लिन सक्ने छन् । दुवै कम्पनीको एकीकरणपछि बनेको आईएमई खल्ती लिमिटेड को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाग्राही संख्या र पुँजीको हिसाबले ‘खल्ती बाइ आईएमई’ अहिले देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको दाबी गरिएको छ ।
दुवै कम्पनीले विगत करिब एक दशकदेखि आ–आफ्ना क्षेत्रमा विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै आएका थिए ।
आईएमई पे रेमिटेन्स सेवा, ब्याज दिने सुविधा, र इनड्राइभजस्ता भुक्तानी सेवामा लोकप्रिय थियो भने खल्ती मूभी बुकिङ, इभेन्ट टिकटिङ र इनोभेटिभ फिचरहरूका कारण विशेषगरी युवापुस्तामाझ लोकप्रिय रहेको थियो ।
मर्जरपछि अब यी सबै सेवाहरू एउटै एपभित्र झन परिष्कृत, सरल र सुरक्षित ढंगले उपलब्ध हुनेछन् ।
आईएमई पे प्रयोगकर्ताहरू अब ‘खल्ती बाइ आईएमई’ मा सजिलै माइग्रेट गर्न बताइएको छ । यसमार्फत उनीहरूको वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट लगायत सम्पूर्ण विवरण नयाँ एपमा स्थानान्तरण हुनेछ भने खल्ती प्रयोगकर्ताहरूले आफ्नो एप अपडेट गरी नयाँ अनुभव प्राप्त गर्न सक्छन् ।
आईएमई पे पहिले आईएमई ग्रुप अन्तर्गत सञ्चालित थियो भने खल्तीमा वल्डलिंक, त्रिवेणी ग्रुप लगायतका कर्पोरेट लगानीकर्ताहरू आबद्ध थिए ।
आईएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्णप्रसाद शर्माले यो मर्जरले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् भने खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले यो मर्जर नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धितर्फको ऐतिहासिक कदम भएको बताएका छन् ।
त्यस्तै आईएमई खल्ती लिमिटेडका सीईओ विनय खड्काले अब डिजिटल पहुँच, साक्षरता र समावेशीकरणका थप योजनाहरू अघि बढाइने जानकारी दिएका छन् ।
दुवै कम्पनीले आज विशेष कार्यक्रममार्फत मर्जरको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।
























