जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृतक ३० वर्षीय दिनेश पासवान, रौतहटको बृन्दावन नगरपालिका–७ का हुन् । घाइते हुनेमा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान रहेका छन् । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटना आज बिहान पौने ७ बजे भएको हो । ना ६ ख ७५५० नम्बरको ट्रक रौतहटबाट लालबन्दीस्थित न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको थियो । भुस लोड गर्ने क्रममा ट्रकको भाग ११ हजार भोल्ट क्षमताको विद्युत् लाइनमा छोइएपछि करेन्ट लागेर तीनै जना घाइते भएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले उनीहरूलाई उद्धार गरी नमुना अस्पताल, हरिवन पठाएको थियो । उपचारका क्रममा ट्रक सहचालक दिनेश पासवानको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ ।

























