काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल अब विद्युतीय सवारीसाधन (ईभी) को युगमा प्रवेश गरिसकेको बताएका छन् ।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दाहालले देशले अब दिगो, सुरक्षित र वातावरणमैत्री यातायात प्रणालीको दिशामा ठोस कदम चालेको उल्लेख गरे। “यो प्रक्रिया अब कसैले रोक्न सक्दैन,” उनले स्पष्ट पारे ।
यातायात पूर्वाधारको सन्दर्भमा नेपाल केही पछि परे पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भइरहेको उल्लेख गर्दै उनले भने, “पूर्वदेखि पश्चिम जोड्ने राजमार्गहरू निर्माण भइरहेका छन्, उत्तर–दक्षिण करिडोरहरू आकर्षक ढंगले अघि बढिरहेका छन् ।”
मन्त्री दाहालले ती करिडोरहरूलाई त्रिदेशीय कनेक्टिविटीको रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी दिँदै, भारत, चीन र नेपाललाई जोड्न सकिने सम्भावनाले देशलाई आर्थिक फाइदा दिलाउने विश्वास व्यक्त गरे ।
संघीयता कार्यान्वयनको क्रममा देखिएका केही द्विविधाहरूबारे पनि उनले प्रस्ट पारे। “संघको काम प्रदेशले, प्रदेशको काम स्थानीय तहले गरिरहेको अवस्था छ,” उनले भने, “यसलाई समन्वय गरेर स्पष्टता ल्याउने प्रयास भइरहेको छ।”
लाइसेन्स समस्या समाधान भएको दाबी
मन्त्री दाहालले पछिल्लो समय चर्चामा रहेको ड्राइभिङ लाइसेन्स समस्या समाधान भइसकेको दाबी गरे। “म मन्त्री बनेपछि निरन्तर प्रयास गरेर यो समस्या समाधान गरेको छु,” उनले भने। अबदेखि लाइसेन्स वितरणको जिम्मा प्रदेश सरकारको हुने जानकारी दिँदै उनले आगामी साउन १ गतेदेखि प्रदेशले नै लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा आउने बताए।
क्यासलेस प्रणाली र साना गाडी विस्थापनतर्फ सरकारको योजना
दाहालले सार्वजनिक सवारीमा क्यासलेस प्रणाली लागू गर्ने समय आएको उल्लेख गर्दै यसको लागि आवश्यक तयारी भइरहेको बताए। साथै, पुराना साना सार्वजनिक गाडीहरूलाई विस्थापन गरेर व्यवस्थित यातायात प्रणाली ल्याउने सरकारको नीति रहेको जानकारी दिए।
जाम व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताउँदै मन्त्री दाहालले यातायात क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्न आफू सधैं तयार रहेको धारणा राखे।

























