काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज उठाउने, आवश्यक कानुन बनाउने र सरकार गठन गर्ने प्रमुख थलो भएको बताउनु भएको छ ।
बुधबार संसदीय मामिला पत्रकार समाजसँग शीतल निवासमा भएको भेटमा उहाँले संसदले सरकार बनाउने भूमिकासमेत निर्वाह गर्ने स्मरण गराउँदै भन्न्भयो, “यदि संसदले सरकार बनाउने भूमिका होइन भनेर सोच्न थालियो भने हामी लोकतन्त्रको विपरीत दिशातर्फ जान सक्छौं, जुन खतरनाक हुन्छ।”
राष्ट्रपति पौडेलले नेपालमा प्रजातान्त्रिक अभ्यास अपेक्षाकृत कम देखिएको उल्लेख गर्दै लोकतान्त्रिक पद्धति नै सबैको सहभागिता सुनिश्चित गर्ने सन्तुलित व्यवस्था भएको बताउनु भयो। “नेपालले अवलम्बन गरेको वर्तमान व्यवस्था सबै वर्ग र समुदायका प्रतिनिधिहरूको सत्तामा पहुँच हुने सन्तुलित व्यवस्था हो,” उहाँले भन्नु भयो ।
उहाँका अनुसार लोकतन्त्रको संस्थागत अभ्यासमा नेपाल अझै पछाडि रहेको छ, तर क्रमिक रूपमा सुधार हुँदै गएको छ। “हामी अभ्यासको चरणमा छौं । अनुभव कम भए पनि अभ्यास गर्दै अघि बढिरहेका छौं,” राष्ट्रपति पौडेलले स्पष्ट पार्नु भयो ।
राष्ट्रपति पौडेलले जनप्रतिनिधिहरूले राष्ट्रिय आकांक्षा पूरा गर्न आवश्यक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले संसदमा ढिलासुस्तीले कानुन निर्माणमा प्रभाव पार्ने भएकाले यसको असर राष्ट्रिय लक्ष्यमा पर्न सक्ने बताउनु भयो ।
“अत्यावश्यक ऐन बनाउने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्न अवरोध सिर्जना गर्छ,” उहाँले भन्नु भयो ।
साथै, संसदमा अवरोध सिर्जना हुने अवस्था नआओस् भनेर सबै पक्षबीच छलफल, सहमति र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। “यसले संसदलाई जनमुखी बनाउँछ र संसदप्रति जनताको विश्वास थप बलियो बनाउँछ,” राष्ट्रपति पौडेलले भन्नु भयो ।
























