काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमणका क्रममा नफर्किएका व्यक्तिहरूको विषयमा सरकार गम्भीर रहेको र अनुसन्धान अघि बढाइएको बताएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुने भन्दै सरकारी सूचीबाहिर गएका केही नेपाली नागरिकहरू स्पेनमा अलप भएपछिको घटनाबारे छानबिन भइरहेको स्पष्ट पारे ।
प्रधानमन्त्रीसँगै गएको टोलीका केही सदस्य हराएको भन्ने आरोपलाई खण्डन गर्दै गुरुङले, “प्रधानमन्त्रीले लिएर गएका मान्छे छाडेर आएको भन्ने कुरा पूर्णतया निराधार हो,” भने ।
उनले प्रधानमन्त्री, राष्ट्रपति वा उपराष्ट्रपति विदेश जाँदा कति जना लैजान सकिन्छ भन्नेबारे स्पष्ट आचारसंहिता रहेको र त्यसअनुसार नै भ्रमण भएको बताए । “२१ जनाभन्दा बढी लैजान मिल्दैन भन्ने व्यवस्था छ,” उनले थपे।
निवर्तमान मन्त्रीको घुस प्रकरणमा सरकारले तथ्यका आधारमा अघि बढ्छ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निवर्तमान मन्त्री राजकुमार गुप्तासम्बन्धी अडिओ प्रकरणबारे सोधिएको प्रश्नमा मन्त्री गुरुङले सरकार कानुन र प्रमाणका आधारमा अघि बढ्ने बताएका छन् ।
उनले दोषी जो भए पनि कारबाही हुने बताए । “गल्ती गर्ने मन्त्री होस् वा सचिव, जो कोही भए पनि छानबिनको दायरामा पर्नुपर्छ,” उनले भने ।
गुप्ताले नैतिकताको आधारमा राजीनामा दिइसकेको र नयाँ मन्त्री नियुक्त भइसकेको उल्लेख गर्दै गुरुङले अनुसन्धान प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे । “सरकार आँखा चिम्लेर बस्दैन, सत्य र तथ्यका आधारमा कारबाही हुन्छ,” उनको भनाइ थियो ।
मन्त्री गुरुङले भ्रष्टाचारविरुद्ध सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउँदै भने, “हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौं, त्यसका लागि निष्पक्ष छानबिन र कडा कारबाही अपरिहार्य छ ।”

























