काठमाडौं । गृहमन्त्री रमेश लेखकले रसुवामा आएको बाढीका कारण चिनियाँ भूमिमा अलपत्र परेका नेपाली चालकहरूलाई तातोपानी नाका हुँदै स्वदेश फर्काउने तयारी भइरहेको बताएका छन् ।
बुधवार धादिङ चालक संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री लेखकले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा उद्धार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। संघका अध्यक्ष नारायण पन्तले रसुवा बाढीपछि केही चालकहरू चीनतर्फ रोकिएको र घर फर्किन नसकेको उल्लेख गर्दै शीघ्र उद्धारका लागि आग्रह गरेका थिए।
गृहमन्त्री लेखकले चीनमा अड्किएका चालकहरूको सुरक्षा र फर्काइको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै सबै नेपाली नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व भएको स्पष्ट पारे।
उक्त भेटमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ पनि सहभागी थिए। अध्यक्ष पन्तका अनुसार चीनतर्फ अलपत्र परेका १३५ जना चालकहरूको नामसहितको सूची गृहमन्त्रीलाई बुझाइएको छ।
गत असार २४ गते आएको बाढीले रसुवामा ठूलो मात्रामा क्षति पु¥याएको थियो। बाढीका कारण रसुवागढीस्थित नेपाल–चीन मितेरी पुल, विद्युत् आयोजनाहरू, भन्सार कार्यालय, यार्ड, साथै कन्टेनर र विद्युतीय सवारीसाधन (ईभी) समेत बगाएको थियो। चीनतर्फ गएका थुप्रै कन्टेनरहरू डुबानमा परेपछि नेपाली चालकहरू त्यहीँ रोकिएका हुन्।

























