काठमाडौं । मधेश प्रदेशका विभिन्न क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि दमकल र ट्यांकरमार्फत पानी वितरण सुरु गरिएको छ । वीरगञ्ज, कलैया लगायतका सुक्खाग्रस्त क्षेत्रमा अहिले पानीकै लागि हाहाकार छ ।
मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र (दमकल) आज वीरगञ्ज पठाइएका छन् । यी दमकलहरू मार्फत पानी वितरणको काम सुरु भइसकेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको अभाव समाधानका लागि प्रदेश सरकार सक्रिय रहेको बताए । उनले प्रभावित क्षेत्रमा २४ घण्टा वारुणयन्त्र परिचालन गरिने जानकारी दिएका छन् । साथै, दमकलमार्फत वितरण हुने पानीको व्यवस्थापन र समन्वय नेपाली सेनाले गर्नेछ ।
सेनाले आफ्नै सातवटा ट्यांकर प्रयोग गरेर पनि प्रभावित क्षेत्रमा पानी पुर्याउने तयारी गरिरहेको छ । यसअघि वन विभागले तीनवटा ट्यांकरमार्फत सुक्खाग्रस्त क्षेत्रहरूमा पानी आपूर्ति गरिरहेको थियो ।
भीषण गर्मी र खडेरीका कारण पानीको स्रोत सुकेपछि मधेशका विभिन्न जिल्लामा खानेपानीको चरम संकट देखिएको हो । प्रदेश सरकारले थप आपूर्ति र व्यवस्थापनका लागि आकस्मिक उपाय अपनाउँदै गएको जनाएको छ ।

























