चितवन । भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल भन्ने स्थानबाट काठमाडौँतर्फ गइरहेको एउटा मिनी ट्रक गएराति त्रिशूली नदीको किनारमा खसेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने उक्त स्थानबाट करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको ट्रक युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनी आइचर ट्रक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार राति साढे १० बजेकाे समयमा मेवा बोकेर काठमाडौँतर्फ गइरहेको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा भारत, लखनउ निवासी २१ वर्षीय चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन् । दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए ।
प्रहरीका अनुसार ट्रक आफैं अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

























