काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले पार्टी सुदृढीकरण र आगामी विधान महाधिवेशनलगायत चार वटा मुख्य विषयमा निर्णय गरेको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा सम्पन्न बैठकका निर्णयबारे विभागका सचिव माधव ढुंगेलले जानकारी दिएका हुन्।
बैठकले पछिल्ला दिनमा पार्टी र नेताहरूमाथि भइरहेका हमला र अफवाहको प्रभावकारी प्रतिवाद हुन नसकेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध थप सक्रिय हुनुपर्ने निर्णय गरेको छ। साथै, पार्टीका अधिवेशनहरूका क्रममा हाल जिम्मेवारीबाहिर रहेका नेताहरूलाई यथाशीघ्र उपयुक्त भूमिकामा व्यवस्थापन गर्न सम्बन्धित नेतृत्वलाई आग्रह गरिएको छ।
पार्टी सदस्यता नवीकरण गर्नुअघि अनिवार्य परीक्षा दिने प्रणाली सुरु गर्ने निर्णयसँगै सदस्यता अभिलेखीकरण र विस्तारलाई निरन्तरता दिइनेछ। समुदायसँगको सम्बन्ध मजबुत पार्ने उद्देश्यले जनसंगठनलाई जरा तहसम्म विस्तार गर्ने, र ‘दुई पुस्ता सँगसँगै’ अभियान सञ्चालन गरेर युवा पुस्तालाई पार्टी निर्माणमा संलग्न गरिने निर्णय भएको छ।
संगठन विभागका सदस्य विशाल भट्टराईका अनुसार, उक्त अभियानअन्तर्गत देशभरका करिब १७ हजार टोलमा पार्टी कमिटी गठन गरिनेछ भने जनसंगठनहरूलाई पनि गाउँगाउँसम्म विस्तार गरिनेछ।
भदौ २०–२२ मा हुने पार्टी विधान महाधिवेशनमा पेश हुने संशोधन प्रस्तावमा मर्यादित ढंगले बहस गर्न र सुझाव दिन पार्टी कार्यकर्तालाई आव्हान गरिएको छ।
विभागले हालै सम्पन्न ‘जरा अभियान’को समीक्षा गर्दै अभियानले पार्टीमा उल्लेखनीय गतिशीलता ल्याएको निष्कर्ष निकालेको छ। २०७९ सालको माघदेखि चैतसम्म सञ्चालन भएको वडा केन्द्रित उक्त अभियानले पार्टी कमिटीहरूलाई चलायमान बनाएको, सदस्यता नविकरणमा प्रगति ल्याएको र कार्यकर्ता सक्रियता बढाएको बताइएको छ।
ढुंगेलद्वारा जारी विज्ञप्तिमा जनसंगठनहरूको महाधिवेशन र अधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै, ती संगठनहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएका छन् भनिएको छ।
यद्यपि, राजवादी शक्तिहरूको प्रतिगामी गतिविधिका कारण ‘जरा अभियान’का केही निर्धारित कार्य पुरा हुन नसकेको बैठकले उल्लेख गरेको छ। बाँकी कार्यभारलाई अगाडि बढाउन सबै तहका पार्टी कमिटीलाई निर्देशन दिइएको छ।


























