काठमाडौँ । ‘घुस डिल’ प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद शिव नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको राजीनामालाई स्वागतयोग्य भएपनि त्यति मात्र पर्याप्त नहुने तर्क गरेका न् ।
‘मन्त्रीले गम्भीर आरोप लागेपछि राजीनामा दिनु सकारात्मक हो,’ उनले भने, ‘तर अरु मन्त्रीहरू पनि अडियोमा पोलिएका छन् । यो गम्भीर विषयमा सत्य र तथ्यको छानबिन होस् । दोषीमाथि कडाभन्दा कडा कारबाही यथाशीघ्र गरिनुपर्छ ।’
यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गुप्तालाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।
‘राजीनामा दिँदैमा दोषमुक्त हुन सकिँदैन,’ शाहीले भने, ‘मन्त्री गुप्तालाई तुरुन्त पक्राउ गरी छानबिन थालियोस् । साथै, अडियोमा नाम आएका अन्य मन्त्रीहरूमाथि पनि निष्पक्ष छानबिन होस् ।’