काठमाडौं । घुस लेनदेनको अडियो प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ताले मंगलबार बिहान बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्री ओलीले अडिओ प्रकरणबारे गम्भीर चासो व्यक्त गर्दै गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको वालुवाटार स्रोतले बताएको छ । गुप्ता प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा व्यस्त रहेको समयमा बालुवाटार पुगेर राजीनामा पत्र छाडेर फर्किएका थिए ।
भूमि आयोग कास्कीका पदाधिकारी नियुक्ति र कर्मचारी सरुवाका लागि घुसको ‘डिल’ गरेको भनिएको अडिओ केही हप्ता अघि सार्वजनिक भएको थियो । उक्त अडिओमा गुप्ताको संलग्नता देखिएको दाबी गरिएको छ । सार्वजनिक दबाबसँगै प्रधानमन्त्रीले अनुसन्धान अगाडि बढाउने र दोषी भए कडा कारबाही गर्ने संकेत दिएका छन् ।
सरकारले अडिओको सत्यता पत्ता लगाउन फरेन्सिक परीक्षणको प्रक्रिया अघि बढाएको छ । साथै, निष्पक्ष छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सम्बन्धित निकायहरूलाई पत्राचार गरिने स्रोतले बताएको छ ।
राजीनामा दिएपछि गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ ।” उनले आफूविरुद्ध लागेको आरोपको निष्पक्ष छानबिन होस् भन्ने चाहनासहित राजीनामा दिएको उल्लेख गरेका छन् ।