काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार, राजमार्गका आठ स्थानमा खसेको पहिरो र बाढीको लेदो हटाएर सडक खुलाइएको हो ।
सोमबार राति परेको भीषण वर्षाका कारण रोशी गाउँपालिका–९ को पिन्थलीबेशी, बिरुवाडाँडाको फेदीखेला र साङखोला, रोशी–११ को कालढुंगा, र रोशी–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा पहिरो खसेको थियो। ती सबै स्थानमा लेदो हटाइएपछि अहिले यातायात पुनः सञ्चालनमा आएको हो ।
सडक खुलाउन सडक विभाग र एवन निर्माण सेवाको टोलीले सक्रिय सहयोग गरेको प्रहरी प्रमुख कार्कीले बताए।
त्यसैगरी रोशीकै पिप्ले, पानीतारे नजिकको पहिरो तथा काभ्रे–सिन्धुलीको सिमानामा पर्ने बर्खेखोलामा आएको बाढीले क्षति पुर्याएको सडक पनि मर्मत गरिएको छ।
बीपी राजमार्ग सोमबार राति करिब ८ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो। लगातारको अवरोधका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ। अवरोध हटाउन नसकिञ्जेल सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी साधनहरू रोक्का गरेका थिए।
बीपी राजमार्गमा वर्षा सुरु भएयता बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुने समस्या दोहोरिइरहेको छ।