काठमाडौँ । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकाका तीन स्थानमा लेदो र पहिरो खस्दा बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध भएको छ । पहिरो हटाउन प्रयास भइरहे पनि अझै यातायात सुचारु हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेका अनुसार रोसी गाउँपालिका–११ स्थित माम्ती खोला, रोसी–९ को पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
“तीनवटै स्थानमा रातिदेखि नै जेसीभी प्रयोग गरी पहिरो हटाउने काम जारी छ, तर अझै पनि सडक खुल्न ३–४ घण्टा लाग्न सक्छ,” डीएसपी घलेले जानकारी दिए ।
माम्तीमा गएराति करिब १० बजे सडक माथिबाट भेल आएर सडक कटान गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको हो । त्यसपछि राति साढे ११ बजेतिर पिन्थली र बिरुवाडाँडामा पनि लेदो सहितको पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले जेसीभीको सहयोगमा पहिरो हटाउने प्रयास गरिरहेको छ । यात्रुहरूलाई कुनै अप्ठ्यारो परेमा जिल्ला प्रहरी कार्यालय काभ्रेको निम्न मोबाइल नम्बरहरू ९८५१२८४३७६, ९८५११२३८०५, ९८५१२८५४००, ९८५१२३७३३९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
गत वर्ष असोज १२ गतेको बाढीबाट क्षतिग्रस्त भएको बीपी राजमार्ग यस वर्ष पनि सामान्य वर्षातमै पटक–पटक अवरुद्ध हुँदै आएको छ। यस्ता सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय भक्तपुरले धुलिखेलदेखि सिन्धुलीको सिमाना डालाबेशीसम्म २१ वटा उपकरण (जेसीभी, लोडर, ग्रेडर, ट्रीपर आदि) तयारी अवस्थामा राखेको जनाएको छ ।