काठमाडौं । भाटभाटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लाई साढे ९ करोड लागतमा नवनिर्मित भवन हस्तान्तरण गरेका छन् । अस्पतालको वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त भवन उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरिएको हो ।
ईएचएस भवन रु ९ करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । गुरुङले यो भवन आफ्ना स्व. माता–पिता वृषबहादुर र धनमाया गुरुङको स्मृतिमा निर्माण गराएका हुन् । यसअघि, २०६८ सालमा पनि गुरुङले टिचिङ अस्पताललाई रु १० करोडको लागतमा आकस्मिक कक्ष बनाइदिएका थिए ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै गुरुङले भने, “२०६८ सालमा आकस्मिक कक्ष अत्यावश्यक भएकाले भवन बनाइदिएको थियो । अहिले फेरि नयाँ आवश्यकताअनुसार यो भवन बनाइएको हो । राष्ट्र वा सरकारबाट केही पाइन्छ भनेर होइन, देश र जनताको सेवामा सफा मनले सहयोग गरेका हौं ।”
उनले भाटभटेनी समूह सदैव अग्रपंक्तिमा रहेर राष्ट्रको सेवामा समर्पित हुने बताए ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईले नयाँ भवनबाट ओपीडी र परीक्षण सेवा सुरु गरिने जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मीनबहादुर गुरुङको योगदानको खुलेर प्रशंसा गर्दै भने, “धेरैले धन कमाउँछन्, तर समाज र राष्ट्रको सेवामा लागेर दान गर्ने कमै मात्र हुन्छन् । गुरुङ परिवारले फेरि अर्को प्रेरणादायी उदाहरण स्थापित गर्नुभएको छ ।”
प्रधानमन्त्री ओलीले “निरोगी नेपाल” अभियानलाई साकार पार्न सरकार लागिपरेको उल्लेख गर्दै जीवनशैलीमा सुधार र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने आवश्यकता औंल्याए ।