काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्ति पनि सहभागी भएको भन्ने विषयमा छानबिन हुने भएको छ । गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले भने, “प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को–को गए ? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत गएका हुन् ? त्यो छानबिन गर्न निर्देशन दिइएको छ।” उनले थपे, “जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्यो ? लगायतका सबै विषयमा अनुसन्धान हुनेछ ।”
छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) र मानव बेचबिखन अनुसन्धान ब्यूरो परिचालन गरिनेछ । गृहमन्त्री लेखकले यदि कुनै व्यक्ति वा समूह दोषी पाइए कडा कारबाही हुने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए । यो भ्रमणसँगै केही व्यक्तिहरू भिजिट भिसामा सहभागी भएर उतै बसेको आशंका सार्वजनिक भएपछि सरकार अनुसन्धानमा जुटेको हो ।
























