काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको घुस प्रकरणले सार्वजनिक चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुवाटार बोलाएका छन् । गुप्ता अहिले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
भूमि आयोग गठन र मालपोत कार्यालय प्रमुखको सरुवासम्बन्धी अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् । अडियोमा गुप्ताले कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ मागेको कुरा बाहिर आएको छ ।
यो प्रकरण सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने माग तीव्र बनेको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक विषयको जानकारी लिँदै छन् र मन्त्रीसँग विस्तृत विवरण मागिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन सुझाउने तयारी गरेका छन् । यदि उनले त्यसमा सहमति जनाएनन् भने बर्खास्त गर्ने निर्णय लिन सक्ने स्रोतको दावी छ । “संलग्न व्यक्तिहरूको नामसमेत सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्रीज्यूले यथार्थ बुझेर आजै निर्णय लिनुहुनेछ,” स्रोतले भन्यो ।
सार्वजनिक अडियोको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि सम्बन्धित ल्याबमा पठाइएको छ । साथै, मन्त्री पदमुक्त भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत नियामक निकायलाई निष्पक्ष अनुसन्धानका लागि औपचारिक पत्राचार गरिने तयारी सरकारको रहेको बताइएको छ ।

























