काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा बनेको सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सरकारको कामकारबाही सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ ।”
उनका अनुसार सरकार टाइमलाइन तोकेर काम गर्ने र परिणाम खोज्ने संस्कारमा प्रवेश गरिसकेको छ, जुन विगतमा थिएन । “नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएका छन्,” प्रधानमन्त्री ओलीले भने, “र तिनले क्रमैसँग लाइन होइन, अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ ।”
प्रधानमन्त्रीले अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै सरकार त्यसैमा केन्द्रित रहेको बताएका छन् । अन्त्यमा उनले सबैप्रति आभार प्रकट गर्दै लेखेका छन्, “सबैमा नमन, सबैलाई धन्यवाद ।”
सरकार गठन भएको एक वर्षको समिक्षाका क्रममा प्रधानमन्त्री ओलीको सन्देशलाई सरकारको प्रतिबद्धता र कामप्रति आत्मविश्वासको रूपमा हेरिएको छ ।


























