काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिका लागि गरेको भनिएको ‘घुस डिल’ प्रकरणबारे संसद्मा तीव्र प्रतिक्रिया आएको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुबैले गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीको जवाफ र तत्काल छानबिनको माग गरेका छन् ।
माओवादीको प्रश्न : “प्रधानमन्त्री मौन बस्न मिल्छ?”
प्रतिनिधिसभामा आइतबार बोल्दै माओवादी सांसद दुर्गा राईले मन्त्री गुप्ताको नाम जोडिएको अडियो सार्वजनिक भइसकेको र सञ्चारमाध्यमले यसबारे समाचार सम्प्रेषण गरिरहेको स्मरण गराउँदै भनिन्, “यस्तो घुस प्रकरणमा चुप लागेर बस्ने हो त? मन्त्रीको आचरणले नैतिकताको कुनै उदाहरण देखाउँदैन ।”
राईले प्रधानमन्त्री केपी शर्मा ओलीको “म घुस लिन्नँ, अरूलाई पनि लिन दिन्नँ” भनाइ स्मरण गर्दै अब उहाँले यो घटनाबारे संसद्मा प्रष्ट जवाफ दिनुपर्ने माग गरिन् । “प्रधानमन्त्रीको त्यो भनाइ शब्दमै सीमित हुन्छ कि कार्यान्वयनमा आउँछ, हेर्न बाँकी छ,” उनले भनिन् ।
रास्वपाको आरोप : “सेटिङमै विधेयक पास भएको हो ?”
त्यसैगरी, रास्वपाका सांसद सुमना श्रेष्ठले संसद्मै बोल्दै मन्त्री गुप्ताको संलग्नता देखिने अडियोले गम्भीर प्रश्न उठाएको बताइन् । “कास्कीको मालपोत कार्यालयमा को पठाउने, भूमि आयोगमा को लैजाने भन्ने सेटिङ अडियोबाट स्पष्ट हुन्छ,” श्रेष्ठले भनिन्, “अब त बुझियो होला भूमि विधेयक किन पास गरियो ।”
उनले घुस प्रकरणबारे गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै भनिन्, “अब त मन्त्रीले मन्त्रीलाई नै पोल्न थालेका छन्, यो गम्भीर विषय हो ।”
सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणमा संसद्को छानबिन समिति गठनको माग पनि पुनः दोहोर्याउँदै आन्दोलन अझै जारी रहेको जानकारी दिइन् ।
सरकारले मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे औपचारिक धारणा राख्न बाँकी छ । प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिने कि नदिने भन्ने विषयमा चासो बढेको छ । प्रतिपक्षी दलहरूको दाबीअनुसार, घुस प्रकरणको निष्पक्ष छानबिन नभए राजनीतिक संकट अझ चुलिन सक्छ ।