झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल र प्रभावकारी रहेको जनाउँदै त्यसलाई बदनाम गर्न केही विपक्षी र अराजक समूहले झुटा र भ्रामक प्रचार गरेको बताएका छन् ।
झापाको दमक नगरपालिकामा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने किसिमको प्रचार पूर्णतः आधारहीन र नियोजित रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, “स्पेनमा हाम्रो भूमिका अत्यन्त सकारात्मक रह्यो । तर त्यो सहन नसकेर केही विरोधी तत्वले झुटा र वाहियात कुरा फैलाएका छन् । यस्तो कुरा प्रमाणित गर्न सकिने कुरा पनि होइन । झुट बोलेको छ, कराएको छ — यस्तो राजनीति टिक्दैन ।”
उनले यस्ता आरोप–प्रत्यारोप राजनीति र समाजका लागि हानिकारक भएको भन्दै जिम्मेवार व्यवहार गर्न विपक्षीहरूलाई सुझाव दिएका छन् ।
ओलीले उद्घाटन गरेको सो सडक आयोजना विश्व बैंकको सहयोगमा निर्माण भएको हो, जुन नेपालभरका १७ नमूना सडकमध्ये एक हो । ४४ करोड २४ लाख रुपैयाँ लागतमा बनेको ४.८६ किलोमिटर लम्बाइको यो सडक समयमै सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई देशभर फैलिने विकास लहरको एउटा उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
रंगशाला निर्माण र शिक्षा सुधारको प्रतिबद्धता
दमकको बेलडाँगीमा भव्य रंगशाला निर्माणको घोषणा गर्दै प्रधानमन्त्रीले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाअनुसार सरकारले काम गरिरहेको बताए । उनले स्वयंसेवी रूपमा सञ्चालित अनलाइन कक्षाको कारण यस वर्षको एसईई नतिजा १३ प्रतिशतले सुधार भएको दाबी पनि दोहोर्याएका छन् ।
उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई र उद्धव थापालगायत नेताहरूको उपस्थिति थियो ।