काठमाडौँ । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको अभियानमा सक्रिय नवराज सुवेदीले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दिएका छन् ।
सुवेदीले आयोगमा दिएको निवेदनमा चार वर्षको कार्यकाल अझै बाँकी रहेको अवस्थामा आफूलाई पार्टीको विधानविपरीत पदबाट हटाइएको उल्लेख गरेका छन् । उनका अनुसार कारबाही प्रक्रियामा न त उनलाई जानकारी दिइयो, न त स्पष्टीकरण सोधियो ।
आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरूसँग बोल्दै सुवेदीले भने, “मलाई अनुशासन समितिबाट हटाउनु अध्यक्षको स्वेच्छाचारिता हो । निर्णय केन्द्रीय समितिबाट होइन, व्यक्तिगत मनपरीका आधारमा गरिएको हो । मलाई सोधपुछ नै नगरि हटाइएको जानकारी मिडियाबाट मात्र पाएँ ।”
सुवेदीले आफू निर्वाचन आयोगमा व्यक्तिगत फाइदाका लागि नभई पार्टीलाई सही मार्गमा लैजान उजुरी दिन आएको दाबी गरे । “पार्टी अझ बलियो होस्, भित्रि सडयन्त्र अन्त्य होस् भन्ने चाहनाले म आयोग आएको हुँ,” उनले भने ।
उक्त उजुरी निवेदन दिन सुवेदीसँगै राप्रपाका महामन्त्री धवलशम्शेर राणा, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहितका नेताहरू आयोगमा पुगेका थिए ।
यसअघि राप्रपाले सुवेदीलाई अनुशासन आयोगको अध्यक्ष र लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । अध्यक्ष राजेन्द्र लिङदेनले सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई नियुक्त गरेका छन् । सुवेदीको उजुरीपछि अब निर्वाचन आयोगले उक्त विषयमा के निर्णय लिन्छ भन्ने चासो बढेको छ।