काठमाडौँ । सरकारले अबदेखि क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र महँगा औषधिहरू निःशुल्क उपलव्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
नेपालमा आवश्यक औषधि नपाएर उपचारका लागि विदेश जानुपर्ने समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलको पहलमा अन्तर्राष्ट्रिय च्यारिटी संस्था डाइरेक्ट रिलिफले ३७ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । तीमध्ये पहिलो चरणको औषधि नेपाल आइपुगेको छ ।
यसअघि नै मन्त्री पौडेलले यस्ता औषधिहरू सरकारी अस्पतालमार्फत निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए । डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई औषधि पठाएको हो ।
कार्यक्रममा मन्त्री पौडेलले भने, ‘क्यान्सरको औषधि महँगो हुँदा धेरै विपन्न नागरिक उपचारबाट वञ्चित हुँदै आएका छन् । राज्यको प्रत्यक्ष लगानीबिना नै नागरिकलाई राहत दिन सकिने यो पहल महत्वपूर्ण सफलता हो ।’
डाइरेक्ट रिलिफले स्तन, छाला लगायतका विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरू आगामी पाँच वर्षसम्म नेपाललाई निःशुल्क उपलब्ध गराउने जनाएको छ।
मन्त्री पौडेलका अनुसार ३७ प्रकारका औषधिहरू क्रमशः नेपाल आउने छन् र थप आवश्यक औषधि पनि सहयोगमा ल्याउने प्रयास भइरहेको छ। “सूची विस्तार गरी अझ धेरै नागरिकलाई राहत पुर्याउने लक्ष्य लिएका छौँ,” उनले भने, “सरकारी क्यान्सर अस्पतालहरूमा तुरुन्तै औषधि पठाउने व्यवस्था मिलाइसकिएको छ।”
सरकारको यो प्रयासले आर्थिक रुपमा कमजोर वर्गका क्यान्सर पीडितहरूलाई उपचारमा ठुलो राहत मिल्ने विश्वास गरिएको छ।