काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले निर्वाचन आयोग गुहार्न पुगेको छ । प्रवक्ता पदबाट बर्खास्तविरुद्ध सगुनसुन्दर लावती उजुरी दिन निर्वाचन अयोगमा पुगेका छन् भने अन्य नेताहरु पनि आउने उनले बताएका छन् ।
लावतीले आफू भर्खर आयोगको कार्यालयमा पुगेको र उजुरी दिने तयारी गरिरहेको जानकारी दिए। उनलाई राप्रपा अध्यक्ष लिङ्देनले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन्।
यो निर्णय स्वेच्छाचारी र पार्टीको विधानविपरीत भएको आरोप लगाउँदै शनिबार राप्रपा महामन्त्री डा. धवलशम्सेर राणाको संयोजकत्वमा पार्टीको छुट्टै भेला राखिएको थियो।
भेलाले लावतीलाई प्रवक्ताबाट तथा नवराज सुवेदीलाई राप्रपाको अनुशासन समितिको संयोजकबाट हटाइएकोविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको थियो। राजावादी आन्दोलनका संयोजक बनेका सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए । यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । सोहीबमोजिम यो समूह आज निर्वाचन आयोग पुगेको हो।
राजावादी आन्दोलनको संयोजक हुँदै गर्दा सुवेदीले कुनै पनि पार्टीको सदस्य नरहेको भन्दै सार्वजनिक रुपमा घोषणा गरेका थिए । उनले राप्रपाको साधारण सदस्यसमेत नरहेको घोषणा गरेका थिए । तर सुवेदीले पार्टीमा राजीनामा पत्र नबुझाएको र पार्टीले पनि कारवाही गरेर नहटाएका कारण सुवेदी कायम रहेको राणा समूहको तर्क छ । कारवाही नै गर्नु परे पनि अध्यक्षले गर्न नसक्ने र केन्द्रीय समितिले गर्नुपर्ने विधानमान व्यवस्था रहेको उनीहरुको तर्क छ ।
शनिबारको भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष: डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष: मुकुन्दश्याम गिरी, महामन्त्री राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री: ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
उता राप्रपाका प्रचार विभाग प्रमुखसमेत रहेका अर्का प्रवक्ता मोहनकुमार श्रेष्ठले भने सुवेदीले पार्टी छाडिसकेकाले ‘लोकलाजको ख्याल गर्न’ सुझाव दिएका छन् । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘आदरणीय नवराज सुवेदी बा, सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे, लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस् ! तपाई राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है !’