अष्ट्रेलिया । विगत १५ वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको सेवा गर्दै आएकी रत्ना गौतमले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
हाल उप–महिला संयोजकको जिम्मेवारीमा रहेकी गौतमले विभिन्न सामाजिक, सांस्कृतिक तथा नेतृत्व विकासका कार्यक्रमहरू संचालन गर्दै महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। उनले अष्ट्रेलियास्थित नेपाली महिलाहरूलाई एकजुट गर्दै नेपालमा रहेको संस्कृति र पहिचानलाई प्रवासमा समेत जगेर्ना गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बताएकी छन्।
उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, “मेरो अनुभवले मलाई महिलाहरूका हक, अवसर र प्रतिनिधित्वका सवालमा अझ जिम्मेवार, सक्षम र सक्रिय बनाएको छ। अब म यो सेवाभावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले उम्मेदवार बनेकी हुँ।”
उनले प्रवासी नेपाली महिलाहरूको आवाज बुलन्द बनाउने, उनीहरूलाई नेतृत्वमा लैजाने र विश्वभर छरिएका नेपाली महिलाबीच सहकार्य, सहानुभूति र सशक्तीकरणको सञ्जाल निर्माण गर्न आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता जनाएकी छन्।