
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसंख्याको सन्तुलित वृद्धि नहुनु मानव अस्तित्वका लागि खतरनाक हुनसक्ने भन्दै समयमा विवाह गरेर सन्तान जन्माउनेतर्फ जनतालाई सचेत गराएका छन् ।
विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय जनसंख्या नीति २०८२’ सार्वजनिक गर्दै विकासको गति र जनसंख्याको वृद्धिबीच सन्तुलन आवश्यक भएको बताएका हुन ।
उनले जनसंख्या व्यवस्थापनलाई धर्ती र मानव अस्तित्वप्रतिको उत्तरदायित्वको रूपमा लिनुपर्नेमा जोड दिए । ‘जनसंख्या नहुने हो भने न देश रहन्छ, न मानव सभ्यता’, प्रधानमन्त्रीले भने, ‘सृष्टिको सृजनामा मानव जाति जत्तिको मूल्यवान केही छैन । जनसंख्या विषयमा सेमिनार गर्ने र अर्कोतर्फ विनाशकारी हतियार बनाउने प्रवृत्तिले मानव अस्तित्व नै संकटमा पार्छ ।’
प्रधानमन्त्री ओलीले सरकारले विवाहका लागि न्यूनतम उमेर २० वर्ष निर्धारण गरिसकेको भन्दै, ‘३० वर्षभित्र तीन सन्तान पाइसकौँ र ४० पछि रमाऔँ भन्ने गीतमा अल्झिनु हुँदैन’ भन्ने सन्देश दिएका छन् ।
उनले पछिल्लो समय ‘सन्तानले डाँडाकाँडा ढाकून् नभन’ भन्ने जनचेतनाले उल्टै मानिसहरू सन्तान नजन्माउने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार विकसित राष्ट्रहरूमा समेत जनसंख्या ऋणात्मक बन्दै गएकोले मानव अस्तित्व नै संकटमा पर्नसक्छ ।
कार्यक्रममा प्रधानमन्त्रीले आलोचनाको सट्टा विश्लेषणात्मक र रचनात्मक सुझाव आवश्यक रहेको धारणा पनि राखे । ‘देश आलोचनात्मक चेतले आक्रान्त भइसकेको छ’ उनले भने, ‘हामीलाई अब विश्लेषणात्मक चेत चाहिन्छ, जसले कमजोरी देखाएर सुधारको बाटो देखाउँछ। आलोचना होइन, रचनात्मक टिप्पणी जरुरी छ।’


























