काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
साउन २ गते राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता औपचारिक रूपमा घोषणा गरिनेछ ।
यस विषयमा दुबै पक्षबीच सहमति भइसकेको छ, जसमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा नेपालको कम्युनिस्ट आन्दोलनलाई सशक्त र एकताबद्ध बनाउन आजको ऐतिहासिक आवश्यकता रहेको उल्लेख गरिएको छ, र यही आवश्यकता पूरा गर्न दुवै पक्ष एक हुन सहमत भएको जनाइएको छ।
नेकपा एमालेमा फर्किन गौतमले निकै जोड गरेका थिए । एमालेले औपचारिक रूपमा गौतमसँग सहकार्य गर्ने निर्णय गरेको पनि थियो । तर, यसले मूर्त रूप नदिएपछि गौतम नेकपा एस तिर गएका हुन ।

























