काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको घोषित नीतिविपरीत हुने गतिविधि र गुटबन्दी क्षम्य नहुने चेतावनी दिएका छन् । उनले पार्टीको राष्ट्रिय महाधिवेशनले पारित गरेका निर्णयमाथि प्रश्न उठाउनु संगठनभित्रको अराजकता र अनुशासनहीनता भएको टिप्पणी गरेका छन् ।
विधान महाधिवेशनको तयारीस्वरूप आयोजित जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलामा सम्बोधन गर्दै पोखरेलले पार्टी विधान र नीतिबारे गम्भीर टिप्पणी गर्दै अहिले उत्पन्न बहसहरू अनावश्यक र अनुशासनविपरीत भएको बताएका हुन् ।
हाल एमालेभित्र ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने विषयमा बहस चलिरहेको छ। महासचिव पोखरेलले यी व्यवस्थाहरू हटिसकेको भन्दै स्पष्टीकरण दिएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले सार्वजनिक रूपमा आपत्ति जनाउँदै छलकपट नगर्न चेतावनी दिएका थिए ।
पोखरेलले कुनै पनि प्रतिनिधिले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा आफैँ सहभागी भएर पारित गरेका प्रावधानमाथि अहिले आएर प्रश्न उठाउनु अनैतिक भएको बताए । उनले भने, ‘जुन व्यवस्थामा तपाईं स्वयं सहभागी भएर अनुमोदन गर्नु भयो, त्यसलाई अहिले आएर चुनौती दिनु अनुशासनविपरीत मात्र होइन, अराजकतापूर्ण हो ।’
पार्टी नीतिविपरीतको गतिविधिमा कडा चेतावनी
पोखरेलले पार्टीका घोषित नीतिको अवज्ञा गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाए । उनले खासगरी एमालेको नेतृत्वमा सरकार बनेपछि पार्टीविरुद्ध आरोप र आलोचना बढेको दाबी गरेका छन् ।
उनले कटाक्ष गर्दै भने, ‘कहिले सरकारमा लैजानु पर्यो भनेर बालकोट धाउनेहरू अहिले लोकप्रियताको नाममा एमाले र यसको नेतृत्वलाई गाली गर्न अग्रपङ्क्तिमा छन् ।’
पोखरेलले राजावादी र माओवादी शक्ति कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा रहेको भन्दै तिनले जानाजान एमालेमाथि मात्र आक्रमण गरिरहेको टिप्पणी गरेका छन् ।
विधान महाधिवेशनको प्रस्टिकरण
आगामी भदौ २०–२२ मा हुने कार्यक्रम विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन भन्दै पोखरेलले अहिले नेताहरूको नाममा गुट बनाउने या लाइन तान्ने कुनै औचित्य नरहेको बताए । उनले कार्यकर्ताहरूलाई नीति र नेतृत्व निर्माणको भिन्नता बुझ्न पनि आग्रह गरेका छन् ।
























