काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिबारे छानबिन गर्न गठन गरिएको विशेष संसदीय समितिका सदस्यहरूले आज सभामुख देवराज घिमिरेसँग भेट गरी छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल समितिको कार्यविधि, कार्ययोजना र आगामी कदमबारे केन्द्रित रहेको एक सदस्यले जानकारी दिएका छन्।
राज्यव्यवस्था समितिबाट पास भएको विधेयकमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था समावेश भए पनि प्रतिनिधि सभाबाट पारित हुँदै जाँदा उक्त प्रावधान हटिएको भन्ने खुलासापछि यो विशेष समिति गठन गरिएको हो । विधेयकमा भएको यस्तो फेरबदलले विधायन प्रक्रियामै गम्भीर त्रुटि भएको भन्दै सात सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।
संसदमा सबैभन्दा ठूलो दलका हैसियतले समितिको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने माग गर्दै आएको छ। तर दलहरूबीच सहमति नजुटेकाले नेतृत्वको विषय अझै टुंगो लाग्न सकेको छैन। सभामुखसँगको छलफलमा नेतृत्वबारे पनि कुराकानी हुने सम्भावना रहेको स्रोतको भनाइ छ।
























