काठमाडौं । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोड रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गर्दै पौडेलले स्रोत नखुलेको ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको दाबी गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, झलक शर्मा पौडेलले २०५४ साल माघ ८ गते सेवा प्रवेश गरेका थिए। ०८० साल कात्तिक १० गतेसम्मको अवधिमा उनले आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान गर्दा सो रकमको वैध स्रोत पुष्टि नभएको पाइएको हो।
अनुसन्धानबाट पौडेलले पदीय हैसियतको दुरुपयोग गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष अख्तियारले निकालेको छ। ती सम्पत्तिहरू पौडेलले आफ्नी पत्नी हुमा कुमारी पौडेलको नाममा राखेको र सम्पत्ति विवरणमा उल्लेख नगरेको अख्तियारको ठहर छ।
अख्तियारले झलक शर्मा पौडेल र उनकी पत्नी हुमा कुमारी दुवैलाई प्रतिवादी बनाई भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सम्पत्ति जफत गर्न र कैद सजायको मागसहित आरोपपत्र दायर गरेको जानकारी प्रवक्ता पौडेलले दिएका छन्।