काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा गएका प्रतिनिधिमण्डलका सदस्यमध्ये को–को नफर्किएको हो भन्नेबारे स्पष्ट जानकारी दिन रास्वपा सांसद सोबिता गौतमलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले प्रधानमन्त्रीको विदेश भ्रमणमा सहभागी हुने व्यक्तिहरू मन्त्रिपरिषद्को निर्णयअनुसार तय हुने बताए ।
“प्रधानमन्त्री स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका केही मान्छे उतै बसे भन्ने चर्चा आएको छ,” गृहमन्त्री लेखले भने, “हामीसँग न्यूनतम जानकारी हुनु आवश्यक छ । प्रतिनिधिसभामा विषयहरू जिम्मेवारीपूर्वक र मर्यादित ढंगले उठाइए राम्रो हुन्छ ।”
उनले थपे, “प्रधानमन्त्रीको आधिकारिक विदेश भ्रमणमा जाने प्रतिनिधिमण्डल मन्त्रिपरिषद्को निर्णयबाट तय हुन्छ । को–को भ्रमणमा जानुभएको थियो र को–को नफर्किनुभएको हो भन्ने जानकारी दिए सरकारका लागि आवश्यक छानबिन र प्रक्रिया सहज हुनेथियो ।”
सांसद गौतमले मंगलबार प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री ओलीसँगै स्पेन गएका केही व्यक्ति नफर्किएको दावी गरेकी थिइन् । सांसद गौतमको भनाइप्रति नेकपा एमालेका सांसदहरुले तत्काल आपत्ति जनाएका थिए भने प्रधानमन्त्री ओलीको सचिवालयले पनि सांसद गौतमलाई आरोप पुष्टि गर्न चुनौती दिएको छ ।