काठमाडौं । गम्भीर रोगका कारण उपचार खर्च जुटाउन नसकेर समस्यामा परिरहेका नागरिकका लागि राहतस्वरूप सरकारले साउन १ गतेदेखि नयाँ सुविधा कार्यान्वयनमा ल्याउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, पूर्वप्रतिबद्धता अनुसार ८ प्रकारका गम्भीर रोगको उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गरिने बताए ।
उनका अनुसार अब क्यान्सर, मुटु रोग, मृगौला समस्या, टाउको चोट (हेड इन्जुरी), मेरुदण्ड चोट (स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा पाउनेछन् ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीलाई अझ परिस्कृत बनाउँदै आम नागरिकको पहुँच विस्तार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गरे । उनले नागरिकबाट प्राप्त सुझाव, सल्लाह र प्रतिक्रियालाई स्वागत गरिने पनि जनाए ।