काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हालैको बाढी र पहिरोबाट क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको पुनर्निर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
मन्त्री दाहालले सम्बन्धित निकायलाई अल्पकालीन र दीर्घकालीन योजना तयार गरी प्रभावित क्षेत्रमा यातायात र जनजीवन सहज बनाउन निर्देशन दिएका हुन्। भोटेकोसी नदी क्षेत्रले पुर्याएको क्षतिको अध्ययन गरी पुनः यातायात सञ्चालनमा ल्याउन आवश्यक कदम चाल्न उनले जोड दिए।
उनको भनाइमा, “अहिलेसम्म पनि मनसुन सक्रिय भएकाले संरचनाको अस्थायी तथा स्थायी पुनर्निर्माण योजना तत्काल बनाउन आवश्यक छ।”
नेपाल–चीन जोड्ने सडक र मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी आवश्यक जनशक्ति, औजार र स्रोतसाधन परिचालन गर्न पनि उनले निर्देशन दिए।
प्राकृतिक प्रकोपबाट थप हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै वर्षायामभर सुरक्षित सडक सञ्चालन सुनिश्चित गर्न मन्त्रालय अन्तर्गतका निकायहरूलाई समन्वय बलियो बनाउन भनिएको छ।
मन्त्री दाहालले सडक अवरुद्ध हुन नदिन अन्य क्षेत्रमा पनि सक्रिय भएर काम गर्न निर्देशन दिँदै जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न भनेका छन्।
सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रको क्षति अध्ययन गर्न प्राविधिक टोली परिचालन भइसकेको छ।
गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट प्राविधिक टोली क्षतिग्रस्त क्षेत्रमा खटिएको छ। बाढी र वर्षाको अवस्थालाई ध्यानमा राख्दै तत्काल काम सुरु गर्न र आवश्यक योजना बनाउन सडक विभाग अन्य निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।