काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणपछि केही सहभागी नफर्किएको भन्ने रास्वपा सांसद सोविता गौतमको भनाइप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । रास्वपा सांसद गौतमले प्रतिनिधिसभाको बैठकमा उठाएको यो विषयप्रति सचिवालयले ‘को–को नफर्किएका हुन् ?’ स्पष्ट पार्न चुनौती दिएको छ ।
गौतमले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीको गत असार १४ देखि २० सम्मको स्पेन भ्रमणमा सहभागी केही सदस्य नफर्किएको भन्ने समाचार गम्भीर भएको बताएकी थिइन् । उनले यसमा व्यक्ति विशेषलाई आरोप नलगाएको भए पनि घटनालाई गम्भीर रूपमा लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिनको माग गरेकी थिइन् ।
यस विषयमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भ्रमणमा सहभागीहरूको प्रमाणित सूची सार्वजनिक गर्दै सोबिता गौतमलाई सूची पढ्न वा हेर्न सुझाव दिएका छन् । उनले गौतमलाई सो सूचीमा को नफर्किएको हो भनेर ठोस रूपमा देखाउन आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएको थियो । टोली असार २० गते नेपाल फर्किएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
यस्तै सत्तारूढ नेकपा (एमाले)का सांसद दामोदर पौडेलले गौतमको अभिव्यक्तिप्रति संसद वैठकमै आपत्ति जनाउँदै ती आरोप पुष्टि गर्न चुनौती दिएका थिए । उनले संसदजस्तो गम्भीर संस्थामा प्रमाणविना आरोप लगाउन नहुने भन्दै सचेत हुनुपर्ने बताए ।
‘प्रधानमन्त्रीको भ्रमणमा कोही विदेश गएर फर्केनन् भन्ने आशंका जताउनु गम्भीर कुरा हो । प्रमाणसहित कुरा गर्नुपर्छ, नत्र संसदलाई भ्रममा पार्ने काम हुन्छ’ सांसद पौडेलले भने ।
सांसद गौतमले संसदमा आफूहरूले उठाएको भिजिट भिषा सम्बन्धी मुद्दाबाट पछि नहटेको प्रस्ट पारिन् । उनले जनताको जिउधन र राष्ट्रको छविसँग जोडिएको विषयमा सरकार गम्भीर नभएको आरोपसमेत लगाइन् । सांसद गौतमले आफ्ना कुरा राखेपछि रास्वपाले आज पनि प्रतिनिधिसभा वैठकवहिस्कार गरेको थियो ।
प्रधानमन्त्रीको भ्रमण दलमा सहभागीहरु