काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा भीषण बाढी आएपछि ठूलो जनधनको क्षति भएको छ । यस घटनापछि गृह मन्त्रालयले आकस्मिक बैठक आह्वान गरेको छ ।
मन्त्रालयका अनुसार आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको संयुक्त बैठक गृह मन्त्रालयमा बस्नेछ । बैठकमा बाढीले पुर्याएको क्षतिको समीक्षा र आवश्यक निर्णयहरू गरिने जनाइएको छ ।
मंगलबार बिहान ३ बजे चीन क्षेत्रमा परेको अविरल वर्षापछि भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको हो । रसुवा प्रहरीले दिएको जानकारीअनुसार ३ जना सुरक्षाकर्मीसहित १८ जना बेपत्ता छन् ।
बेपत्तामध्ये ९ जना नेपाली नागरिक, ६ जना चिनियाँ नागरिक र ३ जना प्रहरी कर्मचारी छन् ।
बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ, जसका कारण बिहान ४ बजेदेखि दुई देशबीचको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
बेपत्ताको सूची
बेपत्ता प्रहरी
लालबहादुर श्रेष्ठ, प्रहरी सहायक निरीक्षक (प्र.स.नि.), रामेछाप
मुन्ना ठाकुर, प्रहरी जवान (प्र.ज.), बारा
लोकेन्द्र बोहरा, प्रहरी जवान (प्र.ज.), बझाङ
बेपत्ता चिनियाँ नागरिक
यु युए
लि हुक्वाइङ
याङ चुआन
यु हाइ हाङ
यु छिआओ कुई
जोउ योङ
बेपत्ता नेपाली नागरिक
जिपन चौधरी, ३६ वर्ष, बर्दिया
सन्तोष दइत, ३५ वर्ष, बर्दिया
बुद्धिराम राम थारु, २५ वर्ष, बर्दिया
लक्ष्मीनारायण थारु, २४ वर्ष, बर्दिया
सुरेश थारु, ३० वर्ष, बर्दिया
नरेन्द्र वि.क., बागलुङ
फुर्वा लामा, सिन्धुपाल्चोक
गोविन्द मोक्तान, ठेगाना अज्ञात (मिक्चर चालक)
लोकमान तामाङ, ठेगाना अज्ञात (हाइलक्स चालक)
अतिरिक्त क्षति विवरण
गोसाइँकुण्ड–२ मा रहेको ईभी चार्जिङ स्टेसनमा पार्क गरिएको ७/८ वटा गाडी बगाएको
भन्सार कार्यालय रसुवाको यार्डमा क्षति
रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति
पछिल्लो अपडेट
सशस्त्र प्रहरी बलका अनुसार उत्तरगया गाउँपालिका–५ को खोला किनारमा एक पुरुषको गुप्ताङ्गसहितको दाहिने खुट्टा फेला परेको छ । पहिचान खुल्ने प्रयास भइरहेको छ।
बेपत्ताहरूको खोजी कार्य जारी छ भने सरकारी निकायहरू उच्च सतर्कतामा छन् । गृह मन्त्रालयले उद्धार र राहत कार्यलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको छ ।


























