काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि सुदृढ बनाएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको सक्रिय उपस्थितिले मुलुकको पहिचान, हित र आवाजलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्न सफल भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले झण्डै ५० देशका राष्ट्र तथा सरकार प्रमुख र संयुक्त राष्ट्रसंघका प्रमुखहरूको सहभागिता रहेको सम्मेलनमा नेपालको प्रभावकारी सहभागिता रहेको उल्लेख गरे । उनले भने, “यस पटकको भ्रमणले नेपालको मात्र नभई, भूपरिवेष्ठित र अल्पविकसित राष्ट्रहरूको तर्फबाट समेत आवाज बुलन्द गरिएको छ ।”
उनका अनुसार, नेपालले सम्मेलनमा विकास वित्त, जलवायु वित्त, औपचारिक तथा अनौपचारिक विकास साझेदारीका मुद्दाहरू उठाएको छ । उनले भने, “नेपालले जिम्मेवार र सक्षम मुलुकको रूपमा आफूलाई प्रस्तुत गर्न सकेको छ । आर्थिक कूटनीतिलाई सशक्त बनाउँदै वैदेशिक लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।”
प्रधानमन्त्री ओलीले अति कम विकसित राष्ट्रहरूको समूहको बैठकको अध्यक्षता गर्दै सम्मेलनका विविध साइड इभेन्टहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेको जानकारी दिए। उनले सम्मेलनमा नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरूका तर्फबाट प्रभावकारी नेतृत्व गरेको दाबी गरे ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। साथै, स्टोनियाका राष्ट्रपति अलार कारिससँग सूचना प्रविधि क्षेत्रमा सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए ।
विपिन जोशीको रिहाइबारे इजिप्टसँग पहल
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग भेटवार्ता गर्दै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजिप्ट सरकारसँग निरन्तर पहल गर्न आग्रह गरेको जानकारी पनि दिए । उनले इजिप्टको हालसम्मको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि सक्रियता कायम राख्न आग्रह गरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओली असार १४ गते संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभियामा आयोजित ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका थिए । भ्रमण सम्पन्न गरी उनी असार २० गते स्वदेश फर्किएका थिए ।



















