काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको बजेट निर्माण प्रक्रिया संयमित ढंगले अघि बढाउन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन् ।
आज उनले सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “वातावरण बिगार्ने होइन, सम्हालेर—आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट निर्माण प्रक्रियामा सहभागी बनौं ।”
संविधानअनुसार असार १० गतेभित्र नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भए पनि मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको असमझदारीका कारण अझैसम्म बजेट आउन सकेको छैन । आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मेयर शाहसँग छलफल गरेपछि, उपमेयर डंगोलले पनि सबै पक्षलाई सहकार्य र संवादमा आउन आह्वान गरेकी हुन् ।
उपमेयर डंगोलले मेयर शाहप्रति इंगित गर्दै भनेकी छिन्, “डुंगा प्वाल पारेर अरूलाई डुबाएर आफू मात्र बाँच्ने प्रयास दुर्भाग्यपूर्ण हुन्छ । यस्तो बाटो रोज्न खोज्नु हुँदैन । बरु हातेमालो गरेर अघि बढ्नुपर्छ ।”
उपमेयर डंगोलले कानुनी रूपमै बजेट निर्माणका लागि आवश्यक कार्यपालिका, नगरसभा, बजेट तर्जुमा समिति, स्रोत अनुमान तथा सीमा निर्धारण समिति लगायतका बैठक अहिलेसम्म नबसेकोप्रति चिन्ता व्यक्त गर्दै, सकारात्मक प्रयासका लागि आह्वान गरेकी छन् ।
उनले प्रमुख कार्यकारी अधिकृतलाई मात्र दोष दिएर काम अवरुद्ध गर्नु अस्वीकार्य रहेको स्पष्ट पार्दै भनेकी छिन्, “यदि उहाँ दोषी हो भने कानूनअनुसार कारबाही हुनु पर्छ, म त्यसमा अडिग छु । तर उहाँको उपस्थितिबिना कार्यपालिका वा नगरसभा बैठक डाक्नु कानुनी दृष्टिले पनि गलत हो ।”
डंगोलको धारणा अनुसार, प्रमुख कार्यकारी अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई प्रश्न गर्ने अवसरबाट वञ्चित गर्नु अनुचित हुनेछ । “यसरी उहाँलाई बैठक बाहिर राख्दा जनतामा शंका पैदा हुन्छ—प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने । त्यसैले उहाँ बैठकमा उपस्थित भएर जवाफ दिनुपर्ने हो,” उनले भनेकी छिन् ।
उनले थप स्पष्ट पारेकी छिन् कि बजेट ल्याउन ढिलाइ गर्नु काठमाडौंबासीप्रति धोका हुनेछ । “हामी जनताबाट विकास र जनहितका लागि निर्वाचित भएका हौं । हामीले हाम्रो जिम्मेवारी पूरा नगरेमा जनताको विश्वासमा धोका दिनेछौं,” डंगोलले सन्देशमा उल्लेख गरेकी छन् ।
उपमेयर डंगोलले आइतबार मेयर, प्रवक्ता र केही कार्यपालिका सदस्यहरूसँग अनौपचारिक छलफल भएको र त्यहाँबाट सकारात्मक संकेत प्राप्त भएको जानकारी पनि दिएकी छन् । बैठक तथा नगरसभा चाँडै सम्पन्न हुनेमा उनले आशा व्यक्त गरेकी छन् ।