काठमाडौं । नेपालका ७७ जिल्लामध्ये अन्तिम पटकसम्म राष्ट्रिय सडक सञ्जालबाट टाढा रहेको हुम्ला जिल्ला अब औपचारिक रूपमा सडक सञ्जालमा समावेश भएको छ।
आइतबार बिहान खार्पुनाथ गाउँपालिका–५ स्थित च्वाखोला नदीमा निर्माण गरिएको बेलिब्रिजको उद्घाटनसँगै हुम्ला राष्ट्रिय सडकमा जोडिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुल उद्घाटन गर्दै दशकौँदेखि सडक पर्खाइमा रहेको हुम्लालाई सडक सञ्जालमा ल्याउने ऐतिहासिक घोषणा गरे ।
प्रधानमन्त्री ओली आइतबार बिहान १० बजे बेलिब्रिज उद्घाटनका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै हुम्ला पुग्ने कार्यक्रम रहे पनि मौसमको खराबीका कारण चार घण्टा ढिलो पुगेका थिए । उनको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेललगायत अन्य अधिकारीहरू सहभागी थिए।
२६ वर्षदेखि सडकको पर्खाइमा रहेको सिमकोट बजार अब मोटर बाटोबाट देशसँग जोडिएको छ । नेपाली सेनाले ४० दिनको प्रयासमा निर्माण सम्पन्न गरेको खार्पु बेलिब्रिजमा प्रधानमन्त्रीले रिबन काटेर गाडी पास गराएपछि हुम्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा सडक सञ्जालमा समावेश भएको हो ।
सरकारले गएको कार्तिक २० गतेको मन्त्रिपरिषद बैठकमा खार्पु खोलामा बन्न लागेको मोटरेबल पुलको ढिलाइलाई ध्यानमा राख्दै वैकल्पिक उपाय स्वरूप बेलिब्रिजमार्फत सिमकोटलाई तत्काल सडकसँग जोड्ने निर्णय गरेको थियो ।
हुम्ला सडक सञ्जालमा जोडिएसँगै नेपाल, भारत र चीनबीचको व्यापारिक आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले हिल्सा नाकामा एलसीसहितको क्वारेन्टाइन केन्द्र निर्माण गर्ने प्रतिबद्धता जनाउँदै, छिमेकी चीनसँगको व्यापार विस्तारका लागि संरचनागत विकासको आवश्यकता औंल्याए ।
प्रधानमन्त्री ओलीले हुम्लाको आर्थिक समृद्धिका लागि सडक पहुँच एक मुख्य आधार भएको उल्लेख गर्दै, व्यापार, पर्यटन र सेवा क्षेत्र विस्तारको सम्भावनामा बल दिए। साथै, उनले आफू परराष्ट्रमन्त्री हुँदा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा ल्याउने विषयमा विशेष पहल गरेको स्मरण गरे ।
कार्यक्रममा उनले नेपाली सेनाको दक्षता र प्रतिबद्धताको प्रसंसा गर्दै, दुर्गम भूगोलमा पनि सेना मार्फत निर्माण कार्य सम्भव भएको उदाहरण प्रस्तुत गरे । यससँगै, अब नेपालका सबै ७७ जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा समावेश भएका छन्। यसअघि सडक सञ्जालको पहुँच सदरमुकाम सिमकोटसम्म पुगेको थिएन ।
कर्णाली करिडोरको बाँकेको जमुनियादेखि हुम्लाको हिल्सासम्म दूरी ५१० किलोमिटर रहेको छ । करिडोरले कर्णाली प्रदेशलाई उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्ने महत्वपूर्ण भौगोलिक तथा आर्थिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजना मानिएको कर्णाली करिडोरको शिलान्यास २०५६ सालमा गरिएको थियो । सुर्खेतदेखि सिमकोट हुँदै हिल्सा नाका पुग्ने ६८२ किलोमिटर लामो यो मार्गमा हालसम्म विभिन्न खण्डमा चरणबद्ध रूपमा निर्माणकार्य हुँदै आएको छ ।