काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै पनि अन्तरविरोध नरहेको स्पष्ट पारेका छन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीनिकट नेता महासेठले भण्डारीको सक्रिय राजनीतिमा पुनः आगमन पनि अध्यक्ष ओलीकै सहमतिमा हुने बताए ।
उनले भने, ‘पछिल्ला दिनहरूमा मिडियामा ओली र भण्डारीबीच मतभेद छ, कार्यकर्ता कित्ताकाटमा छन् भन्ने खालका हल्ला फैलिएका छन् । तर त्यसमा कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन ।’
महासेठले स्पष्ट पारे, ‘विद्या भण्डारी यदि सक्रिय राजनीतिमा फर्किनुहुन्छ भने त्यो पनि अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा हुनेछ । संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन कुनै रोकटोक गरेको छैन ।’
उनले थपे, ‘यदि उहाँ आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने रु त्यो त उहाँको व्यक्तिगत निर्णय हो । पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको छ ।’
महासेठले केही नेता कार्यकर्ताले पूर्वराष्ट्रपति भण्डारीको नाम जोडेर अनावश्यक विवाद सिर्जना गरिरहेको आरोप लगाए । उनले भने, ‘पार्टीभित्रका एक–दुई जना नेताले मात्र अनावश्यक रूपमा अन्तरविरोध सिर्जना गर्ने प्रयास गरेका छन्, जुन उचित होइन । पूर्वराष्ट्रपतिलाई विवादमा तान्ने प्रयास राम्रो होइन ।’
राष्ट्रपति बनेपछि झन्डै एक दशक औपचारिक रूपमा सक्रिय राजनीतिबाट अलग रहेकी विद्या भण्डारीले असार १४ गते, मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । राष्ट्रपति हुनु अघि भण्डारी एमालेकी उपाध्यक्ष थिइन् ।