काठमाडौँ । अर्बपति व्यवसायी इलोन मस्कले अमेरिकी राजनीतिमा नयाँ मोड ल्याउँदै ‘द अमेरिका पार्टी’ घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत पार्टीको औपचारिक घोषणा गर्दै वर्तमान द्विदलीय प्रणालीविरुद्ध कडा आवाज उठाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध चिसिँदै गएपछि मस्कले नयाँ राजनीतिक यात्रा सुरु गरेका हुन् । उनले एक्समा लेखेका छन्, ‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर हुँदा त्यहाँ लोकतन्त्र होइन, एकदलीय शासन हुन्छ । आज तपाईंहरूलाई स्वतन्त्रता फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको हो ।’
ट्रम्प–मस्क सम्बन्ध कसरी चिसियो ?
मस्कले ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग (DOJE) प्रमुखको रूपमा कार्यरत रहँदा ‘बिग ब्युटिफुल बिल’ नामक कर कटौती र सरकारी खर्च वृद्धिको विधेयकप्रति कडा आपत्ति जनाएका थिए । यसपछि ट्रम्प र मस्कबीच सामाजिक सञ्जालमा तीव्र वाकयुद्ध भएको थियो । शुक्रबार ट्रम्पले उक्त विधेयकमा हस्ताक्षर गरेसँगै मस्कले नयाँ पार्टी घोषणा गरेका हुन् ।
सन् २०२४ को राष्ट्रपति निर्वाचनमा मस्क ट्रम्पका प्रमुख सहयोगी थिए । उनले ट्रम्पको चुनावी अभियानमा २५ करोड डलर चन्दा दिएका थिए । त्यसको बदलामा उनलाई मन्त्रीस्तरीय दर्जासहित सरकारी दक्षता विभागको प्रमुख बनाइएको थियो । तर पछिल्लो विवादले उनीहरूबीचको सम्बन्ध बिग्रिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा आफ्नो पार्टीबाट सीमित कंग्रेस र सिनेट सिटमा उम्मेदवार खडा गर्दै राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएका छन् ।
सर्वेपछि निर्णय
अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) को अवसरमा मस्कले एक्समा एक पोल राख्दै सोधे– “के तपाईं दुई पार्टी प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ?”
त्यसमा ६५.४% प्रयोगकर्ताले नयाँ पार्टीको पक्षमा मत दिएका थिए ।
पोलको नतिजा सार्वजनिक गर्दै मस्कले लेखेका छन्, “अब तपाईंहरूले चाहेको नयाँ राजनीतिक पार्टी पाउनुहुनेछ । जब देशलाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ, त्यहाँ रिपब्लिकन र डेमोक्र्याट उस्तै हुन्छन् । अब अमेरिका दुई पार्टी प्रणालीबाट मुक्त हुने छ ।”
मस्कको घोषणापछि ट्रम्पले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर मस्कको ‘द अमेरिका पार्टी’ ले अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।