काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक असार २२ गते बस्ने गरी स्थगित भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा केही समयमात्रै चलेको बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्ति प्रमुख एजेन्डाका रूपमा प्रवेश गरेको थियो ।
बैठकका एक सहभागीका अनुसार झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै सार्वजनिक कार्यक्रममार्फत दिएको अभिव्यक्तिका कारण विषय उठाइएको हो । लुम्विनीमा भएको कार्यक्रममा उपमहासचिव मेटमणि चौधरी पनि सहभागी रहेकाले उनले बैठकमा घटनाक्रमको ब्रिफिङ गरेका थिए ।
चौधरीले झाँक्रीको भनाइको भिडियो सबैले हेरेको उल्लेख गर्दै, ‘म आफैं त्यहाँ थिएँ, युवाहरूको उत्साहजनक उपस्थिति थियो तर नेतृ झाँक्रीको अभिव्यक्तिले धेरैलाई निराश बनायो’, भनी प्रतिक्रिया दिएका थिए । उनले अध्यक्षविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधको सन्दर्भमा नेताहरूको सार्वजनिक भनाइले थप नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी पनि दिए ।
बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राई र उपाध्यक्ष धर्मनाथप्रसाद साहले पनि अध्यक्ष नेपालविरुद्ध राजनीतिक प्रतिशोध भइरहेको दाबी गर्दै झाँक्रीको अभिव्यक्तिको आलोचना गरेका थिए ।
झाँक्रीले भने आफूलाई कुनै पनि किसिमको लिखित वा मौखिक स्पष्टीकरण सोधिएको जानकारी नरहेको बताउँदै, पार्टीभित्र त्यसबारे भ्रामक प्रचार भइरहेको बताउँदै आजको बैठकमा आफ्नो धारणा राख्न समय मागेकी थिइन् तर बैठक स्थगित भएकाले त्यो अवसर नपाएको स्पष्ट पारेकी छन् ।
तीनजना नेताहरूले धारणा राखेपछि महासचिव घनश्याम भुसालको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै बैठक २२ असार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रवक्ता तथा उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार सोही दिन नेतृ झाँक्रीलाई अनुशासन आयोगले सोधेको भनिएको स्पष्टीकरणबारे पनि छलफल हुनेछ ।
झाँक्रीले अघिल्लो शनिबार लुम्बिनी प्रदेशमा आयोजित युवा संघको कार्यक्रममा पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै, “सिनो बोकेर हिँड्न सकिन्न” भन्ने अभिव्यक्ति दिएकी थिइन् । यही अभिव्यक्तिले पार्टीभित्र गहिरो विवाद उत्पन्न गरेको छ ।