
काठमाडौं । स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल–स्पेन आर्थिक सहकार्यका सम्भावनाबारे व्यापक छलफल भएको छ ।
बुधबार भएको कार्यक्रममा सहभागी भएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनीस व्यवसायी, कूटनीतिक समुदाय र नेपाली डायस्पोरालाई सम्बोधन गर्दै नेपालको पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा पूर्वाधारजस्ता क्षेत्रहरूमा रहेको लगानी अवसरबारे जानकारी गराएका छन् । उनले यी क्षेत्रहरूमा सहकार्य र लगानीको अपार सम्भावना रहेको उल्लेख गर्दै स्पेनीस लगानीकर्ताहरूलाई नेपालमा साझेदारीका अवसरहरू पहिचान गर्न आग्रह गरेका थिए ।
नेपालमा हाल लगानीमैत्री वातावरण निर्माण भैरहेको बताउँदै अध्यक्ष ढकालले एकद्वार प्रणालीमार्फत सेवा प्रवाह, ३० भन्दा बढी कानुनी सुधार तथा कर छुट जस्ता प्रावधानले लगानी प्रक्रिया सहज, पारदर्शी र विश्वासिलो बनाउँदै लगेको बताएका थिए ।
नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् तथा स्वच्छ ऊर्जा उत्पादनको सम्भावना अझै उपयोग हुन बाँकी रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले क्षेत्रीय विद्युत् व्यापारको पूर्वाधार निर्माण भइरहेको वर्तमान अवस्थामा स्पेनीस लगानीकर्ताहरूका लागि नेपाल प्रवेशको उपयुक्त समय रहेको विश्वास दिलाएका छन् ।
कार्यक्रमका क्रममा अध्यक्ष ढकालले स्पेनीस व्यवसायीहरूलाई नेपाल भ्रमण गर्न र साझेदारीका अवसरहरू पहिचान गर्न आमन्त्रण गरेका छन् । साथै, नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाएका छन् ।
कार्यक्रमले नेपाल–स्पेन आर्थिक सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ।

























